आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतका युवा राज्यमन्त्री काठमाडौँमा

गोकर्णेश्वर खबर८ भाद्र २०८१, शनिबार १३:१९ मा प्रकाशित (१ महिना अघि) ११६ पाठक संख्या

काठमाडौँ, भदौ ८ गते । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नु भएको छ ।

उहाँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।

घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए ।

यसैबिच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । रासस