आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

गोकर्णेश्वर खबर६ श्रावण २०८१, आईतवार १५:४६ मा प्रकाशित (२ महिना अघि) १४६ पाठक संख्या

हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् ।

२४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेका जम्कट्टेल १८ महिनामा सरकारबाट बाहिरिएका छन् ।

जम्कट्टेल सरकारबाट एमाले साढे २ महिनामै बाहिरियो । १० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएर सरकार टिकाए ।

२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको हो ।

बागमतीमा अब कांग्रेस , एमाले गठबन्धन सरकार बन्नेछ । कांग्रेसबाट बहादुर सिं लामा मुख्यमन्त्री बन्दै छन् । सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस र एमालेका सांसदको हस्ताक्षर संकलन गरिएको छ ।