काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने तयारी गरेको छ ।
साउन १७ गतेदेखि शुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्न आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको हो ।
यसअघि नेपाली कांग्रेसले बैठक लाइभ गरेपछि त्यसको सिको गर्दै माओवादी केन्द्रले पनि लाइभ गर्न लागेको देखिएको छ । पार्टी सचिव दीनानाथ शर्माका अनुसार बैठक पाँच दिनसम्म चल्ने र सबै दिनको कार्यक्रम लाइभ गरिने तयारी गरिएको छ ।
पछिल्लो समय पार्टीहरुका निर्णय अपारदर्शी हुने गरेको आम गुनासो बढेपछि दलहरुले बैठक सामाजिक सञ्जालबाट कार्यक्रमहरू प्रत्यक्ष प्रसारण गर्न थालेका छन् ।