आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

पशुपतिको जलहरी प्रकरण : गहँभरी आँसु झार्दै सदस्य सचिवले भने- १० केजी सुन नपुगे मृत्युदण्ड भोग्न तयार छु

गोकर्णेश्वर खबर३० जेष्ठ २०८०, मंगलवार २०:४२ मा प्रकाशित (१ साल अघि) ८६ पाठक संख्या

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव मिलनकुमार थापाले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए।

आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहँभरी आँसु झारे। आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उनले राज्यको नीति यही हो ? भनि प्रश्न समेत गरे।

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरूपयोग गरेर बाँच्नु नपर्ने पनि बताए।

सदस्य सचिव थापाले भने, ‘राज्यको पनि कहिलकाहीँ मलाई लाग्छ–कान मात्रै हुँदो रहेछ, आँखा हुुँदो रहेनछ कि जस्तो लाग्छ। मैले यो क्षमासाथ भनें। मलाई दुःख लाग्छ। जहाँसम्म यो सुनको जलहरीको कुरा हो। म एउटा अध्यात्मा सेक्टरमा लागेको व्यक्ति। भगवान पशुपतिनाथको कृपाले कोषाध्यक्ष भएर फेरि सदस्य सचिव बन्ने मौका पाएँ। मेरो प्रोफेसनल स्किल आफ्नै छ। र, मलाई धेरै जनाले सायद चिन्नु पनि हुन्छ होला। मलाई पशुपतिको भेटी तलमाथि गरेर कुनै जग्गा, जमिन बेचेर खानु छैन। खाँदिनँ। मेरा दुई वटा सन्तान छन्। म चिसो पानी हाल्न चाहन्छु, चिसो पनि हाल्न चाहन्न। र, धनी र गरिब मर्दाखेरी एउटै कात्रो ओढेर जाने ठाउँ हो पशुपति। मैले यति बुझेको छु। योभन्दा धेरै बुझेको छैन। चाहे महलमा बसे पनि, छाप्रोमा बसे पनि काल त एउटै हो नि। कोही छिटो मर्छन्, कोही अलि ढिलो मर्छन्। त्यसले गर्दाखेरी यो सुनको जलहरी मैले न्याय माग्न मैले पनि के आत्महत्या गर्नुपर्ने हो ? माननीयज्यूहरू।’

उनले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनि सांसदहरूसँग जिज्ञासा समेत राखे।

‘म यो सुनको जलहरी समितिको संयोजक हो। यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौता अनुसार हामीले सुन लिएर आएका छौं–१०३ केजी। त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनीत भएपछि हामी कर्मचारी हो। राज्यका प्रमुखहरूले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत होरु त्यतिखेर सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो। सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यू हुनुहुन्थ्यो। उहाँहरूको निर्देशनमा हामीलाई शिवरात्री भरीमा त्यो सकाउनु भनिएको थियो। हामीले सकायौं। गल्ती के गर्‍यौं ?’, उनले भने।

‘एउटा कुरा। अर्को कुरा, नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने त ? यो सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्युटीमा रहेको भिडिओ अहिले यदाकदा अनलाइनमा आइरहेको छ। सेनालाई विश्वास गर्ने कि नगर्ने? यो सुन हराएको हो भने सेनाले जिम्मा लिन पर्ने कि नपर्ने भनेर मैले प्रधानसेनापतिज्यूसँग पनि कुरा गरेको थिए यो विषयमा। हो, यो गलत भएको हो–त्यहाँ लेख्ने कुरामा त्रुटीपूर्ण भएको हो। म आयोगमा बयान दिन जाँदाखेरी पनि सबै जनाले बयानमा जोख्नुस्, जोख्नुस् भन्दाखेरी सबैको एकमत छ जोख्नुपर्छ भनेर’, उनले भने, ‘यति त्रुटीपूर्ण भएको हो कि हामीले त्यो सुनको जलहरी हाल्दै गर्दा हाम्रो प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सुनको जलहरी हाल्नु हुन्न भनेर अदालतबाट अन्तरिम आदेश ल्याउनु भयो। ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ। १० केजी भएको छैन भनेपछि हामीले त्यो माइन्यूटमा नलेखेको मात्रै हो। १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ। कि जोख्दाखेरी थाहा हुन्छ नि पित्तल हाल्यो कि चाँदी हाल्यो। यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ। म मृत्युदण्ड भोग्न तयार छु।’

सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताए।

‘आज मेरो गाउँभरी बेइज्जत भयो। मेरो दुई जना सन्तान छन्। (गहँभरी आँशु पार्दै) अन्यथा नलिनु होला। म कमजोर होइन। तर राज्यले कमजोरी बनायो नि त। आयोगले छानबिन गर्न नपर्ने? पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ। जोखेर मुद्दा चलाउन। यो च्यालेन्ज हो। पुगेन पनि फाँसीदेऊ भने’, उनले भने, ‘तर हाम्रा पत्रकार साथीहरूले यथार्थ नबुझिकन सुन चोर भनेर निकालिदिनु हुन्छ। मेरा दुइटा बच्चा छन्। मेरो बच्चाको भविष्य अन्धकार बनाइदिने ? राज्यको त्यही नीति हो?’

त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दाबी थियो। बैठकमा सांसदहरूले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए।