काठमाडौं । वानएक्स बेटुमार्फत् सट्टेबाजी गराएको आरोपमा ६ जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
जुम्लाका २३ वर्षीय दिलिपसिंह कठायत, २३ वर्षीय भुपालराज न्यौपाने, १९ वर्षीय नयनराज भण्डारी र २८ वर्षीय वरूणकुमार सिंह छन्। यस्तै काठमाडौंका ३२ वर्षीय बासुदेव पाण्डे र काभ्रेका २६ वर्षीया शिवानी तामाङ पक्राउ परेका हुन्।
उनीहरूले बेटिङ कम्पनी वानएक्स बेटमार्फत् सट्टेबाजी गराएको आरोप छ। पक्राउ परेका व्यक्तिहरू माथिल्ला तहका एजेन्ट हुन्।
उनीहरूलाई प्रहरीले मंगलबार काठमाडौं उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायत ठाउँबाट पक्राउ गरेको कार्यालयका प्रमुख एवं एसएसपी मनोजकुमार केसीले जानकारी दिए।
उनीहरूबाट ठूलो मात्रामा सिमकार्ड पनि बरामद भएको छ। प्रहरीले ३४६ थान सिम बरामद गरेको छ।
कठायतले विगत एक वर्षदेखि, न्यौपानेले ९ महिना, भण्डारी र सिंहले ६ महिना, तामाङले ८ महिनादेखि र पाण्डेले एक महिनादेखि एजेन्टको काम गर्दै आएका थिए।
विभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएका डिजिटल वालेटहरूमा ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट देखिएको एसएसपी केसीले बताए। यस्तै, अन्य १५ जनाका ३४ वटा बैंक खाताबाट १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको बेटिङ कारोबार भएको देखिन्छ।
अहिले यी सबै खाता रोक्का गरेर अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका व्यक्तिहरूबाट जम्मा ९ करोड ८ लाख १३ हजार १०८ बराबरको कारोबार भएको देखिन्छ।