आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दियो समय

गोकर्णेश्वर खबर७ चैत्र २०७९, मंगलवार ०९:५५ मा प्रकाशित (१ साल अघि) ३२ पाठक संख्या

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई आयोगमा दर्ता हुनका लागि समय दिएको छ।

आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ता गराइसक्न भनेको छ।

तनहुँ १ र बारा २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिन चाहने दलले आयोगमा दर्ता गर्नुपर्ने हुन्छ।

यसअघि आयोगले चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने दलहरूलाई दर्ताका लागि समय दिएको थियो।

आयोगले चितवन २, बारा २ र तनहुँ १ मा २०८० वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो।

बारा २ मा निर्वाचित तत्कालीन जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिएका थिए।

यस्तै तनहुँ १ बाट निर्वाचित तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि उनले पनि सांसदबाट राजीनामा दिएका थिए।

रिक्त रहेका ३ प्रतिनिधि सभा सदस्य चयनका लागि वैशाख १० मा एकैदिन उपनिर्वाचन गर्न लागिएको हो।