६ चैत, काठमाडौं । नेपाल सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै यस्तो निर्णय गरेको हो ।
सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।
बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको छ ।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। सोमबारको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ।