काठमाडौं । नेपालमा हाल स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज राति देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।