३ पुस, काठमाडौं । सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो ।
उच्चस्तरीय संयन्त्रको बैठकअघि सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच लामो छलफल भएको थियो । ओली निवास बालकोटमा भएको छलफलमा भागवण्डाको खाका बनेको थियो, जसलाई बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले अन्तिम रुप दिएको छ ।
नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो ।