२६ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसदको बैठकमा प्रधानमन्त्रीमा विश्वासको मत मागेका छन् ।
संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम मेरो नेतृत्वमा विविभन्न राजनीतिक दलको सहभागितामा सरकार गठन भएको हो । यो विश्वासका लागि दलहरुलाई धन्यवाद दिँदै म आज यो सार्वभौम संसदमा सामाजिक न्याय, शासासन र समृद्धीको संकल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्नका लागि उपस्थित भएको छु।
यस्तै प्रधानमन्त्री प्रचण्डले यसपटक ठूलो आत्मस्वीकारोक्ती र आत्मसमिक्षासहित यो रोस्टममा उपस्थित भएको बताएका छन्।
कांग्रेसले सरकारलाई विश्वासको मत दिने
नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिपक्षमा बस्ने तर सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक पछि संघीय संसद् भवनमै बसेको दलको बैठकमा मुख्य सचेतक रमेश लेखकले तीन वटा प्रस्ताव पढेर सुनाएका थिए ।
कांग्रेस मुख्य सचेतक रमेश लेखकले प्रतिपक्षमा बस्ने, सरकारलाई विश्वासको मत दिने र तेस्रो सभापतिले सम्बोधन गर्ने तीन वटा प्रस्ताव पढेर सुनाएका थिए ।। लेखकले प्रस्ताव सुनाएपछि सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रस्तावबमोजिम निर्देशन दिएर बैठक सकिएको थियो ।
त्यसअघि कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले विश्वासको मत दिने मात्रै प्रस्ताव ल्याएकोमा महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले फरक मत राखेका थिए । सभापति देउवाले चार नेताको मागबमोजिम प्रतिपक्षमा बस्ने तर सरकारलाई विश्वासको मत दिने निर्णय गराएका थिए ।