आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारलाई विश्वासको मत पनि दिने

गोकर्णेश्वर खबर२६ पुष २०७९, मंगलवार १४:३१ मा प्रकाशित (१ साल अघि) १०३ पाठक संख्या

२६ पुष, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिपक्षमा बस्ने तर सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक पछि संघीय संसद् भवनमै बसेको दलको बैठकमा मुख्य सचेतक रमेश लेखकले तीन वटा प्रस्ताव पढेर सुनाएका थिए ।

लेखकले नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने,  सरकारलाई विश्वासको मत दिने र सभापतिले सम्बोधन गर्ने प्रस्ताव पढेर सुनाएका थिए। लेखकले प्रस्ताव सुनाएपछि सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रस्तावबमोजिम निर्देशन दिएर बैठक सकिएको थियो ।

त्यसअघि कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले विश्वासको मत दिने मात्रै प्रस्ताव ल्याएकोमा महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले फरक मत राखेका थिए । सभापति देउवाले चार नेताको मागबमोजिम प्रतिपक्षमा बस्ने तर सरकारलाई विश्वासको मत दिने निर्णय गराएका थिए ।