१५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव तथा काठमाडौं क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार गोविन्द पुडासैनीले गोकर्णेश्वर महादेवको आशिर्वादले सन्तोष चालिसेले जित्ने बताएका छन् ।
मंगलबार गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भएको नागरिकसँग उम्मेदवार कार्यक्रमलाई सम्बोधन गर्दै पुडासैनीले सो बताएका हुन् ।
नगर प्रमुख हुँदा जिर्ण रहेको गोकर्ण मन्दिरको मर्मत सम्भार गरी उत्तरगया धामको विकास तथा सुनको छाना हाल्न सफल भएका हुनाले चालिसेले गोकर्णेश्वर महादेवको आशिर्वादले जित्ने दावी गरे ।
गोकर्णेश्वर क्षेत्रको विकासमा करोडौं रकम विनियोजन गरी काम गरेकोमा प्रशंशा गर्दै पुडासैनीले नगरपालिकाको विकासमा चालिसेले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे । कोरोना कहरमा आफ्नो जीवनको पर्वाह नगरी नागरिकको सेवामा खटिएका चालिसेको काम आम जनताले देखेकोले यस पटक भारी मत दिएर जिताउने विश्वास व्यक्त गरे ।
पुडासैनीले काठमाडौं क्षेत्र नं. ३ मा नेपाली कांग्रेस एकताबद्ध भए सबै उम्मेदवारको जित सहज र सुनिश्चित भएकोमा जोड दिंदै पार्टीलाई जिताउन एकताबद्ध भएर परिचालित हुन आग्रह समेत गरे ।
आज नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ४ इकाईले आयोजना गरेको कार्यक्रमलाई काठमाडौं क्षेत्र नं. ३ बाट कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार सन्तोष चालिसे, पूर्व मन्त्री तथा समानुपातिक उम्मेदवार अम्बिका बस्नेत, प्रदेश (क) का उम्मेदवार छिरिङ दोर्जे लामा, प्रदेश (ख) का उम्मेदवार विमल ठकुरी, निर्वाचन प्रचार संयोजक हरिबोल भण्डारी लगायतले सम्बोधन गरेका थिए ।