१४ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार एक कार्यक्रम आयोजना गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष दाहालले पार्टीले नेपालको शासकीय स्वरुप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा जोड दिए ।
दाहालले संविधान निर्माणको समय देखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहे पनि सो समयमा निष्कर्षमा पुग्न नसकेको उल्लेख गरेका छन् । अध्यक्ष दाहालले आमजनताको पहुँचका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नुपर्ने पनि माओवादीको प्रतिवद्धतापत्रमा उल्लेख भएको बताए ।
यस्तै, राज्यमा सबै वर्ग र समुदायको प्रतिनिधित्वका लागि स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गर्नुपर्ने पनि उनले बताए ।