२६ असोज, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुले आज निर्वाचन चिह्न प्राप्त गर्दैछन् । निर्वाचन आयोगले आज उनीहरुलाई चिन्ह प्रदान गर्ने भएको हो ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ ।
निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको छ । आज उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म छ । त्यसअघि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ । त्यसका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त सूचना जारी गरी बागी उम्मेदवारहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन भनेका छन् । यदि फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।