२२ असोज, काठमाडौं । सत्ता गठबन्धनका दलहरुले प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँट गरेका छन् । शुक्रबार गठबन्धनले देशैभरी तालमेलको सहमति जसटाएको हो । सहमति अनुसार प्रतिनिधिसभाका १६५ सिटमध्ये १५२ सिटको बाँडफाँट भएको छ ।
प्रतिनिधि सभाको सिट बाँडफाँड अनुसार अब कांग्रेसले ८४ क्षेत्रमा उमेदवारी दिने भएको छ । यसैगरी माओवादीले ४७ क्षेत्रमा उमेदवारी दिने भएको छ । नेकपा एकीकृत समाजवादीले १९ सिटमा उमेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उमेदवारी दिने भएको छ ।
यसैगरी, प्रदेशसभातर्फ ३३० सिटमध्ये गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चालाई सिट छुट्टयाइएको छैन भने कांग्रेसले १५६ सिटमा उमेदवारी दिनेछ ।
माओवादी केन्द्रले ९९ सिटमा र एकीकृत समाजवादीले ३६ सिटमा उमेदवारी दिने छ । सहमति हुन नसकेका र मधेशवादी दललाई समेट्ने प्रयास जारी राख्दै केही सिट खालि राखिएको छ । खालि रहेका सिट मध्ये दुवै पार्टीको दाबी रहेका १२ वटा प्रदेशसभा रहेका छन् भनें २७ वटा प्रदेशसभाको सिट पनि खाली राखिएको छ ।