आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

संविधान दिवसको अवसरमा ७०२ जना कैदीलाई माफी

गोकर्णेश्वर खबर२ आश्विन २०७९, आईतवार १७:१८ मा प्रकाशित (२ साल अघि) ९३ पाठक संख्या

२ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा ७०२ जना कैदीले माफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय माफी मिनाहा गरी माफी दिएकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभिन्न मितिमा अदालतबाट भएका फैसला बमोजिम ७०२ जनाको कैद सजाय माफी मिनाहा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको सूचीमा रहेका महेन्द्रप्रसाद कानुसहित २१ जनालाई कैद सजाय माफी दिएका हुन् ।

त्यसैगरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशका आधारमा असल चालचलन भएका पासाङ शेर्पासहित २०३ र इन्द्रकुमार लिम्बूसमेतका ४७८ गरेर जम्मा ६८१ जनाको कैद माफी मिनाहा गरेका हुन् ।