आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल हुँदै

गोकर्णेश्वर खबर२ भाद्र २०७९, बिहीबार १३:१५ मा प्रकाशित (२ साल अघि) २११ पाठक संख्या

२ भदौ, काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक भईरहेको छ । बिहीबार बिहानदेखि सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

त्यसपछि गृहमन्त्री खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्न लागिएको हो । साउन ३१ गते बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता भएको विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेको थियो ।

संसदका दुवै सदनबाट पास भइसकेको नागरिकतासम्बन्धी विधेयक साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर, राष्ट्रपति भण्डारीबाट १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता भएको थियो ।