आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

नागरिकता विधेयक पहिलेकै अवस्थामा राष्ट्रपति समक्ष फिर्ता पठाउने गठबन्धनमा सहमति

गोकर्णेश्वर खबर३१ श्रावण २०७९, मंगलवार १५:५७ मा प्रकाशित (२ साल अघि) १९२ पाठक संख्या

३१ साउन, काठमाडौं । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रतिनिधिसभामा पुनः विचारका लागि फिर्ता पठाइए पनि पाँच दलीय सत्ता गठबन्धनका दलहरुले पहिलेकै अवस्थामा राष्ट्रपति समक्ष फिर्ता पठाउने सहमति गरेका छन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठनबन्धका शीर्ष नेताको बैठकले दुई विधेयक अगाडि बढाउने सहमति गरेको बताए ।

बैठकले राष्ट्रपतिद्वारा फिर्ता पठाइएको नागरिकता विधेयक पुरानै अवस्थामा फिर्ता पठाउने सहमति गरी नागरिकता विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेको हो ।

नागरिकता विधेयकलाई संसदमा पुनः पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने बारेमा गठबन्धनमा सहमति भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ गते प्रमाणीकरणका लागि पठाएका नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले सोमबार प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन् । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक मङ्गलबारको प्रतिनिधिसभा बैठकमा पेश भइसकेको छ ।