१५ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अंगका प्रमुखको उपस्थिति थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई आइतबार दिउँसो अर्थमन्त्री नियुक्त गरेका हुन् ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले पदबाट राजीनामा दिएका थिए ।
करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशसम्बन्धी विषयको अनुसन्धान गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले निर्दोष सावित गरेपछि शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका हुन् । असार २२ गते संसदीय छानबिन समिति गठन भए लगत्तै प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए ।
यसैगरी, प्रमुख प्रतिपक्षि दल एमालेले शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरे पछि असन्तुष्टि व्यक्त गरेको छ । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको संवेदनशीलतामाथि अपमान गरिएको बताएका छन् ।
संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेपछि शर्मा फेरि अर्थमन्त्री बनेका हुन् । उक्त प्रतिवेदनमा आरोप पुष्टि हुने आधार नभेटिएको भनिएको छ भने प्रतिपक्षी एमालेका सांसदले फरकमत राखेको छ ।