२९ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नगरपालिका वा स्थानीय सरकारले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताएका छन् । नगरपालिका संघको २९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
नागरिकको नजिकको सरकार नगरपालिका वा स्थानीय सरकार भएकोले पनि आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सक्नुपर्ने पनि प्रधानमन्त्रीले बताए । यसका लागि सबै नगरपालिका जिम्मेवार हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।
‘कार्ययोजना बनाएर सबै नगरपालिकाले सबै आर्थिक क्रियाकलापको समन्वय गरेर काम गर्न आवश्यक छ’, प्रधानमन्त्री देउवाले भने ‘देशको आर्थिक समृद्धि र समतामूलक समाज निर्माणको यात्रामा छौँ । त्यसका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण छ ।’
मुलुकको आधुनिकीकरण, सेवा, पूर्वाधार विकासका लागि योजनाबद्ध आवास, बाटो, घाटो, प्राकृतिक स्रोत लगायत नगरपालिका व्यवस्थित हुनुपर्ने उनले बताए । सरकार र स्थानीय तह सरकारबीच खासै भिन्नता नरहेको उनको भनाइृ छ ।
जनताको दुःख, सुखमा सहभागी भएर धेरै कुरा नगरी काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् ।