आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७८, आईतवार ०८:२१ मा प्रकाशित (२ साल अघि) ७५८ पाठक संख्या

१५ फागुन, काठमाडौं । यसैगरी, महाशिवरात्रिको तयारीकै लागि गोकर्णेश्वर महादेव मन्दिरलाई केन्द्रित गरेर सफाइ गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिरमा पनि महाशिवरात्रिलगायत पर्वमा भक्तजनको भीड लाग्ने भएकाले तीर्थयात्रीको सुविधाका लागि सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा गरिने भएकाले पनि महाशिवरात्रिमा पनि यहाँ भक्तजनको भीड लाग्ने गरेको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा मुहानदेखि नै वाग्मती सफाइ गर्दै आइएको छ । यस क्षेत्रको सफाइमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरिएको छ । कुहिने फोहोर जमिन गाडिने र नकुहिने फोहोरमात्र व्यवस्थापन गर्ने गरिएको छ । यस क्षेत्रको सफाइ ‘जिरोवेस्ट’ प्रणालीमा हुँदै आएको छ ।

यसैगरी, मनोहरा सफाइ अभियानको २५८औँ हप्तामा काठमाडौं महानगरपालिका –३२ स्थित जडीबुटी पुलछेउमा सफाइ गरिएको छ । साठी अभियानकर्मीको सक्रियतामा सफाइ गरी फोहोर व्यवस्थापन गरिएको छ ।

यसैगरी, काठमाडौं उपत्यकाका रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भेग, चक्रपथका उत्तरी र पश्चिमी खण्ड, बागमतीका विभिन्न खण्ड, ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ । बाग्मती सफाइ महाअभियानबाट प्रेरित भई यसका सहायक नदीमा सफाइ अभियान सुरु भएको हो ।

हाल काठमाडौं उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी, महाअभियानबाट प्रेरित भएर काठमाडौं उपत्यका बाहिरका मुख्य शहर, नदी र सम्पदास्थलमा सफाइ भइरहेको छ । काठमाडौं उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता विपत्तिका बेला पनि रोकिएको छैन ।