आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

कांग्रेस-एमाले छलफल निष्कर्ष उन्मुख : मन्त्री ज्ञानेन्द्रबहादुर कार्की

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७८, शुक्रबार ०८:०३ मा प्रकाशित (२ साल अघि) ८१२ पाठक संख्या

१३ फागुन, काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट, (एमसीसी)बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र अन्य शीर्षनेताहरूसमेत सहभागी छलफल निष्कर्षमा उन्मुख रहेको छ ।

संसद्को अवरोध हटाउने र एमसीसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे भएको कुराकानी सकारात्मक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

छलफलमा सहभागी भएर बाहिरिने क्रममा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभामा टेबल भएको एमसिसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताए ।

संसद्लाई सुचारु गर्नका निमित्त प्रधानमन्त्री लचकताका साथ अधिकतम सहमति बनाउन सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ र यो छलफलले संसद् सुचारु हुने विश्वास छ, एमसिसी सदनमा गहनरूपले छलफल भएर निष्कर्षमा पुग्नेछ ।

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिमा संसद् सुचारु भई एमसिसीका बारेमा छलफल हुने मन्त्री कार्कीको भनाइ छ । उहाँले समयसीमाभित्रै एमसिसी पारित हुने विश्वास व्यक्त गरेका छन् । मुलुकको हितका लागि आवश्यक एमसिसी सार्वभौम संसद्ले नै टुङ्ग्याउने उनले बताए ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँगको छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले एमसिसीलगायतका विषयमा खुला छलफल गर्न आफूहरु तयार रहेको छलफलमा सहभागी कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै थापाले भनें “प्रधानमन्त्रीज्यूले एमसिसी अन्तर्राष्ट्रियस्तरसम्म पनि जोडिएको छ । यसलाई टुङ्गोमा पु–याउनुपर्छ, खुला विकल्पमा छलफल गर्न तयार छौँ भन्नुभयो, अङ्क गणितसँग सरोकारको विषय होइन, संसद्मा भाग लिएर मत जाहेर गर्नुस् भन्नुभयो ।”

आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगन भए पनि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् ।