काठमाडौं । प्रतिनिधि सभाको बैठक आज अपरान्ह बस्दैछ। यसअघि बिहिबार दिउँसो १ बजेका लागि तय गरेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए।
त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसलगत्तै एमसीसीमाथि छलफल शुरु हुनेछ। यसअघि आइतबारको बैठकमा एमसीसी पेस भएको थियो।
बिहिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीमाथिको छलफलमा बोल्न चाहने सबै सांसदलाई बोल्न दिने निर्णय गरेको छ।
बैठकले हरेक सांसदलाई ५ मिनेटको समय दिने बताएको थियो।
संसद् सचिवालयका अनुसार एमसिसी प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेस भएपछि छलफलमा भाग लिन चाहने सांसदले नाम टिपाउनेछन्।
निर्धारित समयभित्र उनीहरूले आफ्नो धारणा राखेपछि सम्बन्धित मन्त्रीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिनेछन्। निर्णयार्थ प्रस्तुत हुनुपूर्व सांसदले बोल्ने भएकाले एमसीसीमाथिको छलफल लम्बिन सक्छ।
हाल प्रतिनिधिसभामा २७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक एक सांसद छन्।
यता प्रतिनिधि सभाबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारितको प्रक्रियामा विवाद खडा भएको छ।
प्रतिनिधि सभामा अहिलेसम्म नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी एमसिसी पारित गर्नुपर्ने पक्षमा छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) विपक्षमा छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसदीय प्रक्रियामा भाग लिएको छैन। उसले प्रतिनिधि सभाको वेल घेराउ गर्दै नाराबाजी गर्दै आएको छ।