आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

अमेरिकी दवावमा एमसीसी टेबल गरिएको होईन : कांग्रेस प्रवक्ता

गोकर्णेश्वर खबर९ फाल्गुन २०७८, सोमबार १५:५४ मा प्रकाशित (२ साल अघि) १६० पाठक संख्या

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले कसैको दबाबमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल नगरिएको स्पष्ट पारेको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो बारेमा निर्णय गर्न नेपाल सक्षम रहेको बताएका छन् । पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ’नेपालमा अमेरिकाले दबाबमूलक कुटनीति देखाएको र त्यसको विरोध गर्छौं’ भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको भनाइमा धारणा माग्दा महतले अमेरिकाले दबाब नदिएको जवाफ दिए ।

उनले अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले एमसीसी सम्झौता ढिलाईबारे चासो राख्नु स्वभाविक भएको र यसलाई अन्तर्राष्ट्रिय इस्यु बनाउन नहुने बताए ।

एमसीसी अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा विवाद/बहस छेडिनु समयमै निर्णय नगर्दाको परिणाम भएको उनको भनाइ छ । ‘अब समयमै निर्णय दिनुपर्छ,’ उनले भने ।

नेपालमा अपरिपक्व राजनीतिक खेल भएको भन्दै महतले ’अमेरिका र चीनबीच विवाद निम्त्याउने काम भयो । विकास योजनालाई अत्यधिक राजनीतिक गरियो । एमसीसी जतिसक्दो चाँडो पास गर्नुपर्छ । भ्रमको अन्त्य गर्नुपर्छ’ भने ।