८ फागुन, काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति जुटेको र आजै टेबल हुने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् ।
मन्त्री कार्कीका अनुसार एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिनेछ । यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो ।
गठबन्धनमा सहमति जुटेसँगै प्रतिनिधिसभा बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबलको प्रस्तावसहित कानुनमन्त्री दिलेन्द्र बडू बैठकमा पुगेका छन् । बैठक बानेश्वरस्थित संसद भवनको शंकर हलमा केहीबेर सुरु हुँदैछ ।
नेताहरुको सहमतिप्रति झलनाथ खनालको असहमति
यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् ।
उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।