८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल हुन्छ । जे हुन्छ, त्यसपछि हुन्छ,’ उनले भने ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ । नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।
यसैगरी एमसीसी टेबल गर्ने शीर्ष नेताको सहमतिमा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले भनें आपत्ति जनाएका समाचार आएको छ ।