आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

गोकर्णेश्वर खबर८ फाल्गुन २०७८, आईतवार ०८:५४ मा प्रकाशित (२ साल अघि) २९६ पाठक संख्या

८ फागुन, काठमाडौं । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक आइतबार बस्दै छ । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्षनेताहरू बिहान १० बजे छलफलमा बस्दै छन् ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी अनुमोदनका लागि संसद्मा प्रस्तुत गर्न प्रस्ताव गरेका छन् । तर, संसद् सुचारु गर्नुपर्ने र एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने अडानमा प्रचण्ड र नेपाल रहेका छन् ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने संसद्बाट तत्काल एमसीसी अनुमोदन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार साँझ प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसद्को गतिरोध अन्त्य गरी एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । देउवाले एमसीसीमाथिको छलफलका लागि संसद् अवरोध खुलाउन ओलीलाई आग्रह गरेका थिए ।

फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेसम्ममा एमसीसीलाई निष्कर्षमा पु–याउने प्रयाससाथ प्रधानमन्त्री देउवाले शीर्षनेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् ।