५ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बहालवाला पदाधिकारीले उम्मेदवारी दिन चाहेमा राजीनामा दिनुपर्ने प्रावधान अघि सारेको छ । आयोगले तयार गरेको आचारसंहिताको मस्यौदामा स्थानीय तहबाट पारिश्रमिक र सुविधा लिइरहेको व्यक्तिले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार बन्न सकिने व्यवस्था छ ।
आयोगले आचारसंहिताको मस्यौदा दलहरूलाई सुझावका लागि पठाएको थियो । दलहरूले दिएको सुझावका आधारमा आचारसंहितालाई मंगलबारसम्म अन्तिम रूप दिने आयोगको तयारी छ ।
स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामै यो प्रावधान राख्न लागिएको आयोगले जनाएको छ ।
ऐनको दफा १३ ‘घ’ मा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व र नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिको उम्मेदवार हुन योग्यता नपुग्ने आयोगको ठहर छ ।