आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

एमसीसीबारे साझा धारणा बनाउन माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

गोकर्णेश्वर खबर४ फाल्गुन २०७८, बुधबार ०८:०९ मा प्रकाशित (२ साल अघि) १७३ पाठक संख्या

४ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज बिहान १० बजे बस्दैछ । आजै दिउँसो १ बजे संसद् बैठक बस्नेछ ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बैठकमा एमसीसी र महाभियोग, समसामयिक राजनीतिक घटनाक्रमको विषयमा बैठकमा जानकारी गराउने छन् । बैठकको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको पार्टीको धारणा राखिने उनले बताए ।

एमसीसीको विषयमा माओवादीभित्र पनि दुई धार रहेको छ । एमसीसीमा माओवादीले दोहोरो चरित्र देखाउँदै आएको छ । वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले संसदबाट एमसीसी पारित गराउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेर पत्र पठाएका थिए ।

गोप्य पत्र सार्वजनिक भएसँगै एसमीसी पारित गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत सहमत भएको पुष्टि भएको छ । अध्यक्ष प्रचण्ड बाहिर भने संशोधन नभई एमसीसी पास गर्न नसकिने अभव्यिक्ति दिँदै आएका थिए । एमसीसी पारित गर्ने प्रतिबद्धतासहितको पत्र सार्वजनिक भएपछि प्रचण्ड चेपुवामा परेका हुन् ।

बुधबार प्रधानमन्त्री देउवाले प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई बुधबारै एमसीसी टेबल गर्ने तयारीबारे जानकारी गराएका थिए। दाहाल र नेपालसँगको छलफलपछि देउवाले पार्टीको संसदीय दलको बैठक गरे । कार्यव्यवस्थाको बैठक राख्न सभामुख सापकोटालाई टेलिफोन गरेका थिए । सभामुखले साढे ११ बजे कार्यव्यवस्था बैठक राखेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा एमसिसी पेस हुने सम्भावना छ । एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ । कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ ।