आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

आज (एमसीसी) अनुमोदनका लागि प्रतिनिधिसभामा पेश हुने

गोकर्णेश्वर खबर४ फाल्गुन २०७८, बुधबार ०७:५४ मा प्रकाशित (२ साल अघि) २५४ पाठक संख्या

४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रतिनिधिसभामा पेश हुने भएको छ । बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने तयारी गरेका हुन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको छुट्टाछुट्टै बैठक राखेर एमसीसी टेबल गर्ने निर्णय गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्न दिने प्रतिबद्धता जनाइसकेको समाचार बाहिर आएको छ । लामो समयको बहस, विवाद र अलमलका बाबजुद आज एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा पेश हुने भएको हो ।

मंगलबार विहान कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफलमा एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्ने पुनः समझदारी बनेको थियो । त्यसपछि बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले त्यही ब्रिफ्रिङ गरेका थिए । बैठककै क्रममा उनले सभामुख सापकोटालाई फोन गरेर सरकारले भोलि (बुधाबर) नै एमसीसी अुनमोदनको प्रस्ताव ल्याउन लागेको बताएका थिए ।