आज: १६ कार्तिक २०८१, शुक्रबार | Fri, 01, Nov, 2024

सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले हस्ताक्षर सङ्कलन गर्ने

गोकर्णेश्वर खबर२ फाल्गुन २०७८, सोमबार १०:३९ मा प्रकाशित (२ साल अघि) ३११ पाठक संख्या

२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा नेकपा एमालेले हस्ताक्षर सङ्कलन गर्ने तयारी गरिरहेको समाचार आएको छ ।

सत्ता पक्षका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरे पछि रुष्ट बनेको एमालेले सभामुखमाथि महाअभियोग दर्ता गराउन हस्ताक्षर सङ्कलन गर्ने तयारी गरिरहेको बुझिएको छ । विशेष गरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको गृहकार्य थालिसकेको छ ।

सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले त्यहीँबाट हस्ताक्षर सङ्कलन गर्ने र महाभियोगको प्रस्ताव तयार पार्ने तयारी गरिरहेको एमालेका एक नेताले बताएको रातोपाटी अनलाईनले उल्लेख गरेको छ । संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन एमालेले आइतबार नै आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ ।

आइतबार साँझ पार्टी अध्यक्ष केपी ओलीको निवासमा बसेको एमाले सचिवालयको बैठकले चोलेन्द्रशमशेर जबरामाथि लागेको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही प्रतिवादको तयारीका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको हो ।