आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग दर्ता

गोकर्णेश्वर खबर१ फाल्गुन २०७८, आईतवार १८:४२ मा प्रकाशित (२ साल अघि) ३७८ पाठक संख्या

१ फागुन, काठमाडौं । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग दर्ता भएको छ । बिहान ११ बजे महाभियोग दर्ता भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । सो प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ् र जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् । महाभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वतः निलम्बन हुने व्यवस्था छ ।

यस अघि २०७४ साल वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध महाभियोगको प्रस्ताव दर्ता भएको थियो । आज महाभियोग दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै सांसद देव गुरूङले अदालत सुचारू गर्नु नभएको र भष्टाचारको अभियोग लागेकाले महाभियोग दर्ता गरिएको बताए ।

माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले न्याय सम्पादनमा उहाँको असक्षमता र अयोग्यता प्रष्ट देखिएकाले संविधानको संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम महाभियोग कार्यविधि नियमन ऐन २०५९ को दफा ३ को उपधारा १ र २ बमोजिम संसदमा महाभियोग दर्ता गरेको बताए ।

उहाँले स्वतन्त्र र निष्पक्ष ढङ्गले न्याय सम्पादन नगरेको र पक्षपात र भेदभाव गर्नुभएकाले विभिन्न समस्या बढेका कारण न्यायालय सुचारु गर्न नसकेकाले महाभियोग लगाइएको बताए ।

यस्तै नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले शक्ति पृथकिकरणको सिद्धान्तले चेक एण्ड व्यालेन्स गर्नुपर्ने भएकाले उहाँलाई औपचारिक र अनौपचारिक रुपमा अवरोध हटाउन आग्रह गरे पनि अनदेखा भएकाले संवैधानिक निकास निकाल्न खोजेको बताए ।