२७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् । नयाँ दलले हिन्दूत्व, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाउने भएको छ ।
बिहीबार काठमाडौंको महाराजगंजमा बसेको थापा नेतृत्वको समूहले दल दर्ता गर्ने निर्णय गरेको छ । र दल दर्ताका लागि आवश्यक सम्पूर्ण काम गर्ने अधिकार थापालाई दिएको छ ।
उनका अनुसार नयाँ पार्टी राजसंस्थाबारे मौन छ । ‘राजसंस्था छाड्ने नछाड्ने भन्ने कुरा रहेन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने हाम्रो पार्टीको मुख्य एजेण्डा हुनेछ’ बर्तौलाले भने ।
थापा समूहको छलफलमा नयाँ पार्टीको नाम र चुनाव चिह्नका विषयमा समेत छलफल भएको छ ।
बिहीबार उपस्थित अधिकांश नेताहरुले ‘राष्ट्रिय एकता पार्टी’ नाम राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । चुनाव चिह्न हात्ती, आँखा, गुलाब वा कमलको फूल राख्ने प्रस्ताव नेताहरुले राखेका छन् । नयाँ पार्टीमा ५० देखि एक सय जनाको केन्द्रीय समिति बनाउने तयारी रहेको नेताहरुले बताएका छन् । पदाधिकारीको संख्या पनि थोरै राख्ने तयारी छ ।
बिहीबारको थापाले बोलाएको छलफलमा राप्रपाका हालका पदाधिकारी र केन्द्रीय सदस्यहरु पनि सहभागी भएका थिए ।