आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

पार्टी छाड्ने निर्णयमा पुनर्विचार गर्न कमल थापालाई राप्रपाको आग्रह

गोकर्णेश्वर खबर२५ माघ २०७८, मंगलवार १९:४६ मा प्रकाशित (२ साल अघि) १५२ पाठक संख्या

२५ माघ, काठमाडौं । राप्रपाले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी छाड्ने निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेको छ । मंसिरको तेस्रो साता भएको महाधिवेशनमा पराजित भएसँगै असन्तुष्ट रहेका थापाले मंगलबार गृहनगर हेटौंडामा राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

थापाको घोषणालगत्तै बसेको राप्रपाका पदाधिकारीहरुको बैठकले थापाको घोषणालाई अनपेक्षित र अप्रत्याशीत भनेको छ । ’ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निर्वतमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्याशीत रुपमा व्यक्तिगत तबरले अगल हुने भनिएको घोषणाप्रति दुःख व्यक्त गर्दछौं,’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’

सोमबार नै थापाले केन्द्रीय सदस्यहरुको भेला राखेर राप्रपामा पूर्वराजा ज्ञानेन्द्र शाह तथा निर्मल निवासबाट भएको हस्तक्षेपको विषयमा अनुसन्धान हुनुपर्नेसहितका आफ्नो माग पूरा नभए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका थिए ।

मंसिरमा भएको महाधिवेशनमा पूर्वराजा शाह र निर्मल निवासले निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेर आफूलाई पराजित गरेको आरोप लगाउँदै आएका छन् ।