२५ माघ, काठमाडौं । सरकारले हिजो स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० का लागि घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भए पछि मतदाता नामावली संकलन प्रक्रिया के हुने भन्ने चासो बढेको छ ।
निर्वाचन आयोगका अनुसार सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै हिजोको मितिसम्म मतदाता नामावली दर्ता गर्नेहरु मात्रै वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा उम्मेदवार र मतदाता बन्न पाउने छन् ।
३५ दिनभित्र मतदाताको अन्तिम नामावली
वैशाख ३० मा हुने निर्वाचनमा क-कस्ले भोट हाल्न पाउने भन्ने यकिन गर्न निर्वाचन आयोगले आजको ३५ दिनभित्र मतदाताको अन्तिम नामावली तयार पार्नेछ ।
आयोगले मंगलबारदेखि नै मतदाताको अन्तिम नामावली उतार्ने काम गर्नेछ । करिब १ करोड ८२ लाख हाराहारी मतदाता भएको आंकलन गरीएको छ । अब आयोगले त्यसको लिष्ट रुजु गर्नुपर्ने छ । यसको लागि १५ दिन जति समय लाग्ने आयोगले बताएको छ ।
आयोगले तयार पारेको नामावली पनि थप रुजु गर्नका लागि ७५३ वटै स्थानीय तहमा पठाउने छ । अब कसैले मतदाता नामावली पनि एक ठाउँबाट अर्काे सार्न पाउँदैन । निर्वाचनको स्वच्छतालाई लिएर पनि यसो गर्न मिल्दैन । आयोगले ३५ दिन लगाएर उतारेको नामावली ७५३ वटै स्थानीय तहमा गए पछि स्थानीय तहले भेरिफाइ गररे पठाउनेछ ।