२० माघ, काठमाडौं । सभामुखलाई हटाउने प्रस्ताव नेपाली कांग्रेसले ल्याए एमसीसी पास गर्न एमालेले साथ दिने नेता नेकपा (एमाले)का सचिव टोप बहादुर रायमाझीले दावी गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा एमाले सचिव रायमाझीले कांग्रेसले सभामुख सापकोटालाई हटाउन प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् । सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि उनको भनाइ थियो ।
एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रष्ट पार्ने पनि एमाले सचिव रायमाझीको भनाइ थियो । उनले सत्तागठबन्धन लोभी पापीहरूको झुण्ड भएको र संसद्को काम कारबाहीलाई सुचारु रूपमा चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने पनि बताए ।
सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाएका थिए । तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै आगामी निर्वाचनमा एमाले एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने उनको भनाइ थियो ।
प्रतिनिधिसभा नियमावलीमा सभामुखविरुद्ध ’पद अनुकूल आचरण नगरेको’ भन्ने प्रस्ताव ल्याउन सकिन्छ । त्यस्तो प्रस्ताव प्रतिनिधिसभाको दुई तिहाईले पारित गरेमा सभामुख पदमुक्त हुने प्रावधान छ ।