आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

अनुमतिबिना तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कारबाही

गोकर्णेश्वर खबर१३ माघ २०७८, बिहीबार २०:४६ मा प्रकाशित (२ साल अघि) ५०४ पाठक संख्या

१३ माघ, काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ ।

ख्यालठट्टा (प्रयाङ्क) को नाममा सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने र व्यक्तिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकोले व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न मन्त्रालयले सचेत गराएको हो ।