आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

डेढ महिनामा त्रिभुवन विमानस्थलबाट १५५ किलो सुन नियन्त्रण

गोकर्णेश्वर खबर२५ पुष २०७८, आईतवार १३:३४ मा प्रकाशित (३ साल अघि) २६४ पाठक संख्या

२५ पुष, काठमाडौं । मंसिर १३ देखि पुस २४ गतेसम्ममा ३ हजार ५२० यात्रुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा १५५ किलो ४९ ग्राम सुन नियन्त्रण लिइएको छ । करिब डेढ महिनामा सो परिमाणमा सुन नियन्त्रणमा लिइएको हो ।

आइतबार अर्थ मन्त्रालय अन्तर्गत उच्च स्तरीय व्यवस्थापन समूहको बैठकमा विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले सो परिमाणको सुन ३ हजार ५२० यात्रुबाट नियन्त्रणमा लिइएको जानकारी गराएका हुन् । भट्टराईका अनुसार नियन्त्रणमा लिइएको सुनको प्रचलित बजार मूल्य १ अर्ब २२ करोड रहेको छ ।

नियन्त्रणमा लिइएको सुनमध्ये १५४ किलो ४१५ ग्रामको राजस्व १४ करोड ७० लाख असुली गरिएको छ । नियन्त्रणमा लिइएकामध्ये ३ हजार ४५४ जना यात्रुले राजस्व भुक्तानी गरेर सुन लिएका हुन् ।

पछिल्लो समय सरकारले सुन तस्करीलाई नियन्त्रण गर्न विदेशबाट आउने यात्रुले ५० ग्राम मात्र सुन राजस्व छुटमा ल्याउन पाउने नियम लागू गरेकोले तस्करले स्वदेश फिर्ता हुन लागेका कामदारलाई भरिया बनाएर सुन पठाउने गरेको समाचार आएका छन् ।