आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

नेपाली कांग्रेसको प्रदेश नं २ मा नयाँ नेतृत्वका लागि मतदान हुँदै

गोकर्णेश्वर खबर७ पुष २०७८, बुधबार ११:०५ मा प्रकाशित (२ साल अघि) ३२६ पाठक संख्या

७ पुष, काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहान देखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ ।

निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

संस्थापन समूहबाट उपसभापतिमा सर्लाहीका वीरेन्द्र सिंह र बाराका चन्द्रशेखर यादव, महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ तथा सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै संस्थापन इतर समूहबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल, महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीकै हरेस महतो तथा सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र बाराका निर्मला सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । प्रदेश २ का आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट गरी दुई हजार मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।