आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

गोकर्णेश्वर ९ मा सर्वदलीय वडास्तरीय छलफल सम्पन्न

गोकर्णेश्वर खबर६ पुष २०७८, मंगलवार २१:३६ मा प्रकाशित (२ साल अघि) २०३ पाठक संख्या

६ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ मा सर्वदलीय वडास्तरीय छलफल सम्पन्न भएको छ । वडाको पूर्वाधार तथा सामाजिक विकासको अवस्थाको बारेमा वडा कमिटि र पार्टीका पदाधिकारीहरुको बिचमा समिक्षा छलफल भएको वडा अध्यक्ष राजिव थापाले बताए ।

सो कार्यक्रममा ने.क.पा एमालेका वडा कमिटि अध्यक्ष शिवराम कारञ्जित, ने.क.पा एकीकृत समाजवादीका वडा कमिटि संयोजक शिव प्रसाद पौडेल लगायतले वडाको तर्फबाट गरिएका काम कारवाही तथा विकास निर्माण सम्बन्धि कार्यक्रमहरु सन्तोषजनक रहेको बताउँदै राजनीतिक सहकार्यले वडाको विकासमा थप टेवा पुग्नेमा जोड दिए ।

यसैगरी ने.क.पा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष बिजेन्द्र बहादुर लामाले वडाले एकपक्षीय नभई सबैलाई समेट्ने गरि सर्वपक्षीय ढंगबाट कार्य गर्नु फलदायी हुने सुझाव दिएका थिए ।

कार्यक्रममा वडा नं. ९ का विभिन्न दलका नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापनसमेत गरिएको थियो ।

वडा अध्यक्ष राजिव थापाले सर्वदलीय वडास्तरीय छलफलबाट आएका सुझावहरुलाई ग्रहण गर्दै वडाको विकासको सम्वन्धमा सन्तोषजनक प्रतिक्रिया पाएकोले अझ दत्तचित्त भएर वडाको विकासमा लाग्ने प्रेरणा मिलेको गोकर्णेश्वर खबरलाई बताए ।

कार्यक्रममा वडा सदस्य सत्यभामा श्रेष्ठ लगायत वडा सदस्यहरु र पार्टीका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।