आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

भोलिदेखि १२ देखि १७ वर्षका विद्यार्थीलाई मोडर्ना खोपको पहिलो मात्रा लगाइँदै

गोकर्णेश्वर खबर३ पुष २०७८, शनिबार १९:४७ मा प्रकाशित (२ साल अघि) १७६ पाठक संख्या

काठमाडौं । सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरूद्धको खोप लगाउँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा पुस ४ आइतबार देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन्।

उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ।

यस्तै खोप लगाउनेमा बागमती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बनी प्रदेशको रूकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया छन्।

त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएको हो।

ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म लगाइनेछ।

यस्तै मन्त्रालयले १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका २० जिल्लामा पनि फाइजर खोप लगाउने अभियान सञ्चालन गर्दैछ।

मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ। ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ।