२ पुष, काठमाडौं । कांग्रेस सहमहामन्त्री तर्फको ३ जनाको मत परिणाम सार्वजनिक भएको छ । सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका आङ्देम्बे निर्वाचित भएका छन् । त्यसैगरी सहमहामन्त्रीमा शेखर प्यानलका जीवन परियार निर्वाचित भएका छन् ।
महालक्ष्मी उपाध्याय डिनाले प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् । डिनाले २ हजार ५३३ मत पाइन् भने पराजित भएकी पन्तले २ हजार १०५ मत पाएको निर्वाचन समितिका एक सदस्यले बताए । विजयी उम्मेदवारको औपचारिक घोषणा बाँकी छ ।
यसैगरी, आदिवासी जनजाति तर्फबाट विजयी आङ्देम्बेले २ हजार ७११ मत पाएका छन् । प्रतिस्पर्धी विकास लामालाई ७९८ मतान्तरले हराउँदै आङ्देम्बे निर्वाचित भएका हुन् । लामाले १ हजार ९१३ मत ल्याएका छन् ।
दलिततर्फबाट सहमहामन्त्रीका उम्मेदवार जीवन परियारले प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले हराउँदै परियार निर्वाचित भएका हुन् । परियारले २२१२ मत पाए भने विश्वकर्माले २१७५ मत ल्याएका छन् ।