२ पुस, काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेर पार्टीका संस्थापक नेता बिपी कोइरालालगायत नेताको सालिकमा माल्यार्पण गरेका छन् । महामन्त्री शर्माले बिपीले रोपेको कपुरको रुखमा पानी हालेका थिए ।
वैदिक विधिपूर्वक पूजाआजासहित सङ्ग्रहालय परिसरमा रुद्राक्षको बिरुवा रोपेर उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्माले पार्टीको निर्वाचन समितिले महामन्त्रीमा निर्वाचित भएको घोषणा गरेपछी सङ्ग्रहालय पुगेका हुन् ।
सङ्ग्रहालयमा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी, सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, नेता योगेन्द्रमान शेरचन, दिवानसिंह राई, रामनारायण मिश्रलगातको सालिकमा माल्यार्पण गरे ।
उनले गत भदौ २४ गते बिपी जयन्तीको अवसर पारेर सङ्ग्रहालयमै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए ।