आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्हबाट

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार ११:३३ मा प्रकाशित (२ साल अघि) १४५ पाठक संख्या

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको पदाधिकारी र कार्यसमिति सदस्यहरुको मत गणना आज अपरान्हबाट शुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको पदाधिकारी र कार्यसमिति सदस्यहरुको मतगणना कार्य आजैबाट प्रारम्भ हुने जनाएको हो ।

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत नल्याएपछि मङ्गलबार पुनः मतादन भएको थियो । दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । गएराति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो ।

कांग्रेसको १४औं महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हजार ७३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरे । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।