आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिने तयारी, भेरोसेल खोप लगाएकालाई प्राथमिकता

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार २२:५७ मा प्रकाशित (२ साल अघि) ३०१ पाठक संख्या

काठमाडौं, मंसिर २८ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न धेरै देशले खोप लगाइसकेका व्यक्तिलाई थप बुस्टर डोज खोप दिन सुरु गरिरहेका छन् । भाइरसको जोखिम कायमै रहेको भन्दै ती देशले भाइरसविरुद्ध दुवै डोज खोप पूरा गरेकालाई थप खोप दिन आवश्यक ठानेका हुन् । वुस्टर डोज खोप दिन नेपालले समेत सक्रियता देखाएको छ । भेरोसेल खोप लगाएका जेष्ठ नागरिकहरुको स्वास्थ्यमा असर देखिन थालेको भन्दै विज्ञहरुले समेत वुस्टर डोज खोप दिन सुझाव दिएका छन् ।

कोरोना भाइरस नियन्त्रण गर्न नेपालमा समेत वुस्टर डोज खोप लगाउनुपर्ने आवाज उठेको छ । कोरोना भाइरसको म्युटेसन भएर आएको नयाँ ओमिक्रोन भेरियन्टलाई यहाँ प्रयोगमा रहेको खोपले काम नगर्ने तथ्य बाहिरिएको समयमा बुस्टर डोज खोप लगाउन धेरै देशले आग्रह गरिरहेका छन् । यसअघि लगाइसकेको खोपले कति समय काम गर्छ भन्ने यकिन नभएपछि भाइरसविरुद्ध थप डोज खोप दिन सुरु भएको छ ।

सरकारले बुस्टर डोजका लागि डेढ करोड खोप खरिद गर्ने तयारी गरेको जनाएको छ । हाल देशको पूरा जनसंख्याको ३० प्रतिशतले दुवै डोज खोप र ३७ प्रतिशत व्यक्तिले १ डोज खोप पूरा गरेका छन् । यस्तै राष्ट्रिय खोप सल्लाहकार समितिले समेत दुई डोज भेरोसेल खोप लगाएका दीर्घरोगी र ६० वर्ष माथिका सबै नागरिकलाई तेस्रो डोज खोप दिन सरकारलाई सिफारिस समेत गरेको छ ।

सल्लाहाकार समिति सदस्य डा। रमेशकान्त अधिकारीले सबैभन्दा भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका व्यक्तिमा खोप लगाउन सिफारिस गरिएको जानकारी दिनुभयो । तर सबभन्दा पहिले कोभिशिल्ड खोप दिन सुरु गरिएको भएपनि भेरोसेल खोप लगाएकालाई खोप लगाउन सिफारिस गरिएको छ । यता, विश्व स्वास्थ्य संगठनले भने भेरोसेल खोप लगाएका ३ महिना पूरा गरेका व्यक्तिलाई थप १ डोज खोप दिन सकिने जनाएको छ । परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेक लाल कर्ण दुवै डोज खोप लगाएका जेष्ठ नागरिकलाई ६ महिनाभित्र वुस्टर डोज खोप दिन सकिने बताउनुहुन्छ ।

खोपका अनुसन्धानहरुले समेत भाइरसविरुद्ध खोपका कारणले बनेका एन्टिबडीहरु खस्किदै जाने गरेको देखाएको छ । भेरोसेल खोप लगाएका जेष्ठ नागरिकको स्वास्थ्यमा प्रारम्भिक असर देखिएको भन्दै भाइरोलोजिष्ट डा। शेरबहादुर पुनले उनीहरुलाई बुस्टर डोज खोप आवश्यक रहेको बताउनुभयो ।

ओमिक्रोन भेरियन्ट रोक्न वुस्टर डोज खोप दिन धेरै देशले सुरु गरेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम भएका र जेष्ठ नागरिकलाई खोप दिने विषयमा सरकारले समयमा नै निर्णय लिनु आवश्यक छ ।