२८ मंसिर, काठमाडौं । स्वदेशमै उत्पादित बिजुली खेर गएको भन्दै बिजुली खपत बढाउनु पर्ने माग उठिरहेको र केही समयअघिसम्म भारतलाई बिजुली बेचिरहेको भनिएको नेपालले अहिले फेरि भारतबाट आयात गर्न थालेको छ । नेपालले गत बिहीबारदेखि १ सय ९८ मेगावाट बिजुली किनिरहेको छ ।
विद्युत् प्राधिकरण स्रोतका अनुसार प्रतिदिन २ हजार ५ सय मेगावाट आवरदेखि ३ हजार मेगावाट आवरसम्म बिजुली भारतबाट आउन थालेको छ । अहिले भारतबाट औसत प्रतियुनिट ५ रुपैयाँ २ पैसा (३.१४ भारतीय रुपैयाँ) मा बिजुली किनिरहेको प्राधिकरणले जनाएको छ ।
गतवर्षको यही समयमा नेपालको कुल विद्युत् माग १ हजार ३ सय मेगावाट बराबर मात्रै थियो । आइतबार मात्र नेपालले भारतबाट २ हजार ८ सय ९५ मेगावाट आवर (१ सय ९८ मेगावाट) बिजुली किनेको छ । गत वर्ष यही समयमा नेपालले भारतबाट ६ हजार ४ सय ८५ मेगावाट आवरसम्म विद्युत् आयात गरेको प्राधिकरणको तथ्यांक छ ।
अहिले प्राधिकरणको प्रणालीबाट कुल २७ हजार मेगावाट आवर विद्युत् प्रवाह भइरहेकामा भारतबाट आयातित बिजुलीको हिस्सा १० प्रतिशत बराबर रहेको छ ।