काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
मत गणना सकिएलगत्तै निर्वाचन समितिका एक जना सदस्यले भने, ‘ दोस्रो चरणको मतदान आजै गर्ने गरी छलफल सुरु गरिएको छ ।’
आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुयाउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत ल्याउनुपर्छ ।
आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर सबैभन्दा धेरै मत ल्याएका देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।
दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् ।
तेस्रो भएका प्रकाशमान सिंह श्रेष्ठ, चौथो भएका विमलेन्द्र निधि र पाँचौ स्थानका कल्याण गुरुङ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।