आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

कांग्रेस सभापतिमा देउवालाई उम्मेदवार बनाउने संस्थापन पक्षको निर्णय

गोकर्णेश्वर खबर२२ मंसिर २०७८, बुधबार १६:०९ मा प्रकाशित (२ साल अघि) ४३२ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको सो पक्षको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

बैठकले पदाधिकारीका विषयमा टुङ्गो लगाउन सकेन । बैठकपछि सहमहामन्त्री डा। प्रकाशशरण महतले पार्टी सभापति देउवाको विभिन्न विचारधारा भएका दलहरुलाई जोड्न सक्ने गुण भएकाले पार्टीको सभापतिमा देउवा नै रहनुपर्ने बताए ।

उनले पदाधिकारी र केन्द्रीय सदस्यमा आकंक्षा राख्नेहरुसँग परामर्श गरेर निष्कर्षमा पुर्याउने दाबी गरे । पदाधिकारीका बारेमा पार्टी सभापतिले नै निर्णय लिने उनले बताए ।

त्यस्तै, कांग्रेस नेता बालकृष्ण खाणले देउवालाई नै पार्टी सभापतिको रुपमा अघि बढाउन सहमति भएको जानकारी दिए । उनले महाधिवेशनपछि पदाधिकारी थप गर्ने विषयमा छलफल भएको बताए ।

कांग्रेसको संस्थापन पक्षभित्र सभापतिमा देउवाको नाममा एकमत रहेपनि महामन्त्रीमा बालकृष्ण खाण, प्रकाशशरण महत, एनपी साउदलगायतले दाबी गर्दै आएका छन् ।