काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको विद्रोहले नेपालमा नयाँ क्रान्तिकारी पार्टी जन्माउने बताएका छन्।
दिल्लीस्थित एपोलो अस्पतालको बेडबाटै चन्द्रागिरिमा जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार अडियो सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अब क्रान्तिकारी शैलीमा अघि बढ्नुपर्नेमा पनि जोड दिए।
बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि गरिने सनाखतमा दूतावासमार्फत वारेसनामा पठाएका खनालले नयाँ निर्माणका लागि विद्रोह स्वभाविक भएको उल्लेख गरे।
अध्यक्ष ओलीको अवसरवादी नेतृत्वका कारण दुई दल मिलेर बनाइएको नेकपाको एकता पनि भताभुंग भएको उनले बताए। दुईतिहाइ नजिकको सरकार पनि नरहेको उनले बताए।
साढे तीन वर्ष शासन चलाउने क्रममा ओलीले मनपरी गरेको आरोप लगाए। ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट पनि ओलीले पार्टीलाई थाहै नदिइ ल्याएको बताए।
पार्टीले सरकारमार्फत देशलाई समाजवादतिर लैजानु भन्दा ओलीले दलाल पुँजीवादको यात्रा अघि बढाएको भन्दै खनालले आक्रोश पोखे।
ओलीविरुद्धको यो विद्रोह नयाँ निर्माणका लागि हो, नयाँ क्रान्तिका लागि हो, उनले भने, ओलीविरुद्धको विद्रोहले नयाँ पार्टी बन्छ। तपाईं हामी ओलीविरुद्ध विद्रोहको बिन्दुमा आइपुगेका छौँ। केशरजंगविरुद्ध पनि विद्रोह भएको थियो।
एमालेमा अहिले एउटा समूह मध्यन्थका रुपमा रहेको उनले बताए। मध्यपन्थ पनि अवसरवादकै एउटा रुप हो। त्यसले अन्तिममा दक्षिणपन्थलाई सघाउँछ, एमालेका दोस्रो पुस्तालाई लक्षित गर्दै उनले भने, मध्यपन्थको आयु कहिले लामो हुँदैन। चाँडै नै त्यसले आफ्नो परिणाम देखाउँछ। हाम्रो केन्द्रमा जन्मिएको मध्यपन्थ अब अन्त्य भएको छ।
उनले दक्षिणपन्थी र अवसरवादमाथि गहिरो हमला चाहिएको पनि बताए। दक्षिणपन्थी अवसरवादमाथि जति गहिरो हमला गर्छौँ, त्यति नै हामी बलियो हुन्छौँ, उनले भने, राजनीतिक एकताले मात्रै पार्टी एक हुँदैन। वैचारिक र सैद्धान्तिक एकता पनि चाहिन्छ।
उनले अब नयाँ क्रान्तिका लागि पार्टी दर्ता गरिहाल्न आग्रह गरे। सबैभन्दा पहिले हामी पार्टी दर्ता गरौँ। पार्टी दर्ता गरेपछि नीति सिद्धान्त अपडेट हुनुपर्छ, खनालले थपे, अब हाम्रोमा जनवादी क्रान्ति सकियो। जनताको बहुदलीय जनवाद पनि सिद्धियो, अब हामी समाजवादको यात्रामा अघि बढ्नुपर्छ।
उनले ओलीले गरेको प्रतिनिधिसभा विघटनको भण्डाफोर गर्नुपर्ने पनि बताए। केपी ओलीको खण्डनमा पुस्तिकाका रुपमा छपाउनुपर्छ, उनले भने, सोमबार म त्यहीँ नै आइपुग्छु। अरु कुरा त्यहीँ आएर गरौँ।
उनले अब नयाँ पार्टीलाई सामूहिक रुपमा चलाउनुपर्नेमा जोड दिए। हामीले पहिले भन्दा एकतावद्ध भएर एक ढिक्का भएर सामूहिक निर्णयका आधारमा अगाडि बढ्नुपर्छ, उनले भने, हजारौँ लाखौँ साथीहरुलाई पार्टीमा ल्याउन सक्नुपर्छ। हाम्रा सामु ठूलो चुनौती छ। हाम्रो सफलता सुनिश्चित छ तर बाटो सजिलो छैन कठीनाइ छ काँडा छन् भीरपाखा छन्।
खनालले आफूहरु तिनै भीरपाखमा जन्मेकाले त्यसले केही फरक नपार्ने पनि बताए। उनले दोस्रो पुस्ताका नेताहरु कुन ठाउँमा पुगेका छन् विश्लेषण गर्नुपर्ने पनि बताएका छन्।
मिर्गौला प्रत्यारोपणका लागि दिल्ली गएका उनी आगामी सोमबार काठमाडौं आइपुग्ने जानकारी पनि सम्बोधनका क्रममा दिएका छन्।