आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

सांसद बन्धक प्रकरण: वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको भूमिश्वरको दाबी

गोकर्णेश्वर खबर२१ श्रावण २०७८, बिहीबार १६:१४ मा प्रकाशित (३ साल अघि) १८३ पाठक संख्या

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ ।

प्रदेशसभा सदस्य विमलाले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्‍याएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् । साउन १५ देखि आफूलाई मुख्यमन्त्रीकै निवासमा राखेको र २० गते शौचालयको चप्पल लगाएर भागेको उनको दाबी छ ।

प्रमुख सचेतक ढकालले विमलालाई मुख्यमन्त्रीको निवास पुर्‍याएको स्वीकार गरेका छन्, तर जबर्जस्ती नभई उनकै इच्छाअनुसार भएको बताए ।

ढकालले भने, ‘उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिंड्नु भएको थियो । जबरजस्ती गरिएको होइन ।’ दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा ल्याउने बेला विमलासँगै उनकी दिदी र भिनाजुको भाइ पनि सँगै गाडीमा रहेको ढकालले बताए ।

‘उहाँलाई जबर्जस्ती ल्याइएको होइन । उहाँ बोल्नै नसक्ने बच्चा होर जबर्जस्ती उठाएर ल्याउनलाई ? घरपरिवार समेतको सल्लाहमा, सहमतिमा, नयाँ कपडा लगाएर, झोला भिरेर हिंड्नु भएको थियो ।

हामीले मुख्यमन्त्री निवासमा पुर्याऔं । राजीखुसीले विज्ञप्ति बनाउनुभयो र हस्ताक्षर गर्नुभयो । सभामुखलाई र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाममा पनि चिठी लेखेर हस्ताक्षर गर्नुभयो ।

मुख्यमन्त्रीको निवासमा बसेर सबै कुरा मिलिसकेपछि उहाँलाई होटलमा बसौं भन्ने कुरा भयो । तर उहाँले होइन, होटलमा किन बस्नुपर्यो र यहिं बस्छु, उहाँ (मुख्यमन्त्री शंकर पोखरेल) हाम्रो अभिभावक हो, दाङकै नेता हो भन्नुभयो ।

हामीले यहाँ बस्दा अप्ठ्यारो लाग्ला भनेर सरस्वती जीलाई सँगै राखेको हो । सरस्वती जी पनि दाङकै नेता हो, माननीय हो । मुख्यमन्त्रीको निवासमा आउने, बस्ने गर्नुहुन्छ ।

उहाँले आज गरेको पत्रकार सम्मेलनमा भनेका कुराको जवाफ हामीले पनि पत्रकार सम्मेलन गरेरै दिन्छौं ।